काठमाडौं। तनहुँ जिल्लाको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ। गत वर्षको असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो।
पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए। नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएको थियो।
भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएपछि सोही बेलिब्रिज छाब्दीखोला दोभानमा राख्ने योजना बनाइएको थियो।
चितवनबाट मर्मत गरेर ल्याइएको बेलिब्रिज जडान गरिएको पूर्वाधार विकास एकाइ कार्यालय तनहुँले जनाएको छ।
सङ्घीय सरकारको १८ लाख सहयोगमा सडक डिभिजनमार्फत बेलिब्रिज ल्याइएको हो। गण्डकी प्रदेश सरकारको रु ४३ लाखको लागतमा ग्याबिन जाली तथा बेलिब्रिज मर्मत गरिएको हो। उक्त बेलिब्रिज निर्माण भएसँगै आवतजावतमा सहज भएको स्थानीयले बताएका छन्।