काठमाडौं। स्याङ्जाको वालिङ ७ मा भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ। वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो।
गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण शुरु गरिएको उक्त योजना गत बिहीबार निर्माण सम्पन्न भएको हो।
निर्माण सम्पन्न भएको कूलोको आईतबार नगर प्रमुख दिलीपप्रताप खाँणले अनुगमन तथा अवलोकन गर्दै यहाँका किसानलाई उत्पादनसँग जोड्नकालागि निक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे।
वालिङ नगरपालिकाबाट रु. ३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७ लाख ५२ हजार गरी कूल १० लाख ५२ हजार रकम विनियोजन भई निर्माण सम्पन्न भएको बताइएको छ।
५५० मिटर नयाँ निर्माण गरिएको हो भने २०० मिटर पुरानोलाई मर्मत गरिएको उक्त कुलो कूल ७५० मिटर लम्बाईको छ। उक्त कुलो निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै २६ घरधुरीका नागरिकहरुले खेती गर्दै आएको जमिनमा सिञ्चाईको सहजता हुने विश्वास गरिएको छ।