काठमाडौं। लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा ७८ किलोमिटर सडक निर्माण गरेको छ। २०७४ मा स्थानीय तह निर्वाचनपछि गाउँपालिकामा आएका जनप्रतिनिधिको सक्रियतामा गाउँ–गाउँमा सडक सञ्जाल पुगेको हो।
जनप्रतिनिधि गाउँ–गाउँ, टोल–टोल पुगेर नागरिकको समस्या बुझ्ने र समाधान गर्ने क्रममा सडकको समस्या भएका ठाउँमा सडक पुर्याएको गाउँपालिकाले जनाएको छ।
सडक सञ्जाल नजोडिएको ठाउँका नागरिकलाई आउजाउ गर्न, सामान ढुवानी गर्न समस्या भएपछि बजेट व्यवस्थापन गरी सडक पुर्याएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका नौवटा वडाका गाउँ–गाउँमा सडक सञ्जालले छोएको छ।
सडक अभावमा विद्यालय जान, स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था जान, सहरबजार झर्न नागरिकलाई समस्या थियो। घण्टौँ हिँडेर जानुपर्ने बाध्यता भएको भएतापनी अहिले सवारीसाधनमार्फत सहजै आवातजावत गर्न पाएको स्थानीयले बताएका छन्।