काठमाडौं। नेपाल आयल निगमले इन्धन खरिद गरेबापतको रकम भुक्तानी गर्नका लागि सरकारसँग दुई अर्ब रुपैयाँ ऋण मागेको छ। निरन्तर बढेको मूल्य वृद्धिका कारण कोषमा भएको रकम सकिएपछि निगमले ऋण मागेको हो।
अन्तराष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेपछि निगम घाटामा गएको छ। सञ्चित मुनाफा र मूल्य स्थिरीकण कोषमा भएको रकम सकिएपछि तेल खरिद गरेको भुक्तानी गर्नका लागि रकम माग गरिएको निगमले बताएको छ। मूल्य स्थिरीकरण कोषमा भएको रकम सकिएपछि इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने अपुग रकम माग गरिएको हो। अहिले निगमको मूल्य स्थिरीकरण कोषमा जम्मा २५ करोड रुपैयाँ मात्र बाँकी रहेको निगमले जानकारी दिएको छ।
यसमा निगमले यसअघि जम्मा गरेको रकमको ब्याजसमेत जोड्ने हो भने ३० करोडको हाराहारी मात्र कोषमा पैसा रहेको छ। उक्त रकमले आईओसीलाई हरेक १५ दिनमा तिर्नुपर्ने रकम भुक्तानीका लागि छेउ पनि नलाग्ने अवस्था सिर्जना भएपछि निगमले सरकारको जमानीमा राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण मागेको हो। पछिल्लोपटक मूल्य वृद्धि गर्दा पनि गत महिना ९ अर्ब २७ करोड घाटा ब्यहोर्नुपरेको निगमले जनाएको छ।