काठमाडौं। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन्। नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन्।
चैत ३० गतेदेखि सुरु महोत्सव शुक्रबार सकिएको छ। महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको सङ्ख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ।
बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो। सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ को प्रस्तुति रहेको थियो।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन्।