काठमाण्डौं। म्याग्दीको मालिका गाउँपालिका–३ पात्ले गाउँको सडक निर्माण भएको छ। खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएको गाउँमा सडक निर्माण भएको हो।
सडक पुग्ने कल्पना समेत नगरेका स्थानीय सडक पुगेपछि खुसि भएका छन्। आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य बस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको स्थानीयले बताएका छन्।
एक सय घरधुरी रहेको पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडकले दुर्गम गाउँका बासिन्दालाई सुगमको अनुभव गराएको छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा पाँच वर्षअघि सडक यातायातको सुविधा थिएन्।
अदिभारा हुँदै औँलागाउँमा पुगेको सडकलाई आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाले बिनियोजन गरेको ३५ लाख बजेटबाट डाडागाउँ–किटिनी हुँदै सोलेडाडासम्म विस्तार भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको २५ लाख बजेटले किटिनी हुदै लुसीपार, आर्थिक वर्ष २०७६/७६ मा ३० लाख बजेटबाट लुसीपार–पात्ले, २०७७/०७८ मा ११ लाख बजेटबाट पात्लेबाट खापुक टोलमा सडक पुर्याईएको थियो।
चालु आर्थिक वर्षमा ३५ लाख बजेटबाट पात्लेदेखि सोलीखोला हुँदै वडा नं २ को बेली गाउँलाई सडकले जोडिएको बताइएको छ। पात्ले–बेली जोड्ने करिब पाँच किलोमिटर सडक निर्माण भएपछि गाउँपालिकाले परिकल्पना गरेको ‘मालिका चक्रपथ’को सबै मार्ग खुलेको छ।