म्याग्दी। म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा झोलुंगे पुल निर्माण भएको छ। संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धवलागिरी गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुंगे पुल निर्माण गरेको हो।
३५० मिटर लामो झोलुंगे पुल निर्माण भएपछि ४५ मिनेटको बाटो पाँच मिनेटमा छोटिएको छ। बिमवाङदेखि रिख पुग्न भिर, खोल्सा र जंगलमा करिक एक घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्नेमा अब भने ५ मिनेटमा पुगिने भएको छ।
यो पुलबाट मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ। घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। बिम, मराङ, मल्कवाङ र कुइने मंगलेका करिब एक हजार पाँच सय घरधुरी लाभान्वित भएका छन्।