काठमाडौं। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ।
म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो।
घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको बताइएको छ। यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसैँमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए।
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ। हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ। ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्। ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एकवटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ।