काठमाडौं। ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन ७ वटा कम्पनीले आवेदन पेश गरेका छन्। फ्लाइओभर बनाउन सडक विभागले गत असारको अन्तिम सातामा इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन ईपीसी मोडलमा बनाउने गरी ठेक्का आह्वान गरेको थियो।
परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका आधारमा ग्वार्को चोकमा फ्लाइओभर निर्माणको लागि प्रक्रिया अघि बढिसकेको सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले बताए। उक्त फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको छ।
ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य रहेको छ। चक्रपथका चार लेनमा ३५ मिटरको फ्लाइओभर समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ। साथै सर्वसाधारणलाई यात्रा गर्न पनि सहज हुने आशा राखिएको छ। फ्लाइओभर निर्माण भएपछि इमाडोल, पाटन गुड्ने सवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।