गोरखा। चितवन र गोरखा जोड्ने त्रिशूली नदी माथि निर्माणाधीन पुलको ९५ प्रतिशत काम सकिएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ गोरखाको गण्डकी गाउँपालिका–६ जोड्ने पुल निर्माणको तीन वर्षभित्र सक्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७३।७४ बाट निर्माण सुरु भएको थियो।
गत आर्थिक वर्षमा पुल निर्माण सक्ने लक्ष्य राखिएको भएतापनि कोरोना महामारीले गर्दा ढिलाइ भएको हो। उक्त पुल निर्माणको जिम्मा टुन्डी लामा सपना जेभीले पाएको छ। निर्माण कम्पनी सपना कन्स्ट्रक्सनका अनुसारआगामी असोजसम्म निर्माण कार्य पूरा गर्ने तयारीका साथ काम भइरहेको छ।
दसैंसम्म गाडी गुडाउने लक्ष्यका साथ कामलाई तीव्रता दिएको कम्पनीले जनाएको छ। १६ करोड रुपैयाँको लागतमा बनेको १ सय ४५ मिटर लम्बाइको उक्त पुल सञ्चालन मा आएसँगै गण्डकी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।