काठमाडौं। मध्यत्रिशूलीगंगा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेमा १५ मेगावाटको मध्यत्रिशूलीगंगा जलविद्युत् आयोजना निर्माण गर्न सुरु गरिएको हो।
निर्माण शुरु गर्नुभन्दा अगाडिको सबै प्रक्रिया आयोजनाले पूरा गरिसकेको छ। पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण सुरु गरेको यो आयोजनाले दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। विद्युत् आयोजनाको कुल निर्माण लागत तीन अर्ब ९३ करोड ३९ लाख ५६ हजार एक सय ५५ हुने बताइएको छ ।
नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे, किस्पाङ गाउँपालिका–५ मनकामना र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ लहरेपौवा क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण हुनेछ। आयोजनाले २०८० जेठसम्ममा विद्युत् उत्पादन गर्ने प्रस्ताव गरे पनि उक्त अवधिमा विद्युत् उत्पादन नहुने भएको छ । माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको टेलरेसबाट हेडरेस बक्स कल्भेटको सहायताले यो जलविद्युत्मा पानी पठाइने भएकाले यो आयोजना माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको निर्माण सम्पन्न भएपछि मात्र निर्माणको गति लिनेछ।