बेनी। म्याग्दीको पोखरेबगर, घार, खिवाङ, शिख, चित्रे सडक आयोजनाको निर्माण व्यवसायीले अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट ढुङ्गा र गिट्टी जथाभावी फालेर यस क्षेत्रका वासिन्दालाई समस्यामा पारेका छन्।
वातावरणीय प्रभाव लाई ध्यान नदिई स्थानीय तहलाई राजस्व नतिरी एक्साभेटर प्रयोग गरेर जथाभावी ढुङ्गा उत्खनन् भएको हो। स्थानीयका अनुसार मोतिदान, जयमाता जेभीले पहाडबाट आफूखुसी मनपरी शैलीमा ढुङ्गा उत्खनन् गरेको हो।
२०७६ भदौमा वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने ८ मिटर र चार मिटरभित्र बाट ढुङ्गा निकाल्न दिने सहमति भएको थियो। तर, निर्माण व्यवसायीले सहमति विपरित जंगल मासिने, पहिरो चल्ने गरी धेरै भित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको वडा अध्यक्ष बरुवालले बताए।
उत्खनन् रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए, निर्माण व्यवसायी र स्थानीयबासीबिच थप छलफल गरी निर्णय नहुँदासम्मका लागि पहाड उत्खनन् गर्न रोक लगाएको अध्यक्ष बरुवालले बताए।