झापा। झापाको कनकाई नगरपालिकाले स्थापना गरेको अक्सिजन प्लान्टबाट उत्पादन सुरू भएको छ। कनकाई–३ स्थित सुरुंगा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको हो।
यस प्लानबाट उत्पादन सुरू गरिएको नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले बताए। उनका अनुसार कोरोना संक्रमणको समयमा अक्सिजन अभावमा बिरामीहरूले छट्पटाउनु परेको अवस्था देखेर अक्सिजन प्लान्ट जडान गर्ने नगरले घोषणा गरेको थियो।
प्लान्ट स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले ५० लाख, संघीय सरकारबाट १० लाख र कनकाई नगरपालिकाले १ करोड ४ लाख रूपैयाँ खर्च गरेको छ।
ललितपुरस्थित एभरेस्ट लाइन सप्लायर्सले प्लान्ट स्थापनाका लागि एक करोड ४९ लाख ५५ हजार ३१५ रूपैयाँ ७५ पैसामा आपूर्तिको ठेक्का लिएको नगरपालिकाले जानकारी दियो। प्लान्ट व्यवस्थापनका लागि थप १४ लाख ६ हजार ४ सय ८५ रूपैयाँ खर्च लागेको नगर प्रमुख पोखरेलले बताए।
उनका अनुसार अक्सिजन प्लान्टको उपकरण टर्कीबाट ल्याइएको हो। प्लान्टबाट दैनिक ४० लिटरका १६० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने सप्लायर कम्पनीका बायोमेडिकल इञ्जिनियर प्रवल वाग्लेले बताए।
वाग्लेका अनुसार एउटा ४० लिटरको सिलिन्डर २० देखि ३० मिनेटमा भर्न सकिन्छ।