काठमाडौं। हवाई सुरक्षामा नेपालले इतिहासकै उच्च स्कोर प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित रहेको भन्दै ७०.१ प्रतिशत अंक प्राप्त गरेको छ।
आइकाओको टिमले १३ अप्रिलदेखि २५ अप्रिलसम्म नेपालको विभिन्न आठ क्षेत्रमा विस्तृत अध्ययन तथा मूल्यांकन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट बुझाएको हो । यसअघि गरिएको अनसाइट भेलिडेसन अडिटमा नेपालको सुरक्षा स्कोर ६६.७६ प्रतिशत रहेको थियो । अहिले २०२२ मा गरिएको अडिटमा सुरक्षा स्कोर ३.३४ प्रतिशत बिन्दुले बढेर ७०.१ प्रतिशत पुगेको हो । आइकाओको विश्वको औसत परिपालना दर (इफेक्टिभ इम्लिमेन्सन रेट) ६७.२ र एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको छ । यसअघि गरिएको अडिटमा नेपालको सुरक्षा स्कोर एसिया प्रशान्त क्षेत्रको औसत स्कोरभन्दा माथि रहे पनि विश्वको औसत स्कोरभन्दा शून्य दशमलव ४४ प्रतिशत बिन्दु तल थियो ।
आइकाओले दुई सातासम्म गरेको अनसाइट अडिटमा विभिन्न देशका १० जना विज्ञहरू रहेका थिए। आइकाओले १९३ सदस्य राष्ट्रहरूको उडान सुरक्षा निगरानीको सिद्धान्त अवलम्बन गर्दै युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्राम (युएसओएपी) अडिट कार्यक्रम लागू गर्छ । आइकाओले झन्डै १२ वर्षपछि नेपाली आकाश कति सुरक्षित छ भनेर अनसाइट अडिट गरेको बताइएको छ।