तनहुँ । जिल्लाको भिमाद नगरपालिकामा रहेको जिदी खोलामा निर्माणाधीन पुलको ८५ प्रतिशत काम पूरा भएको छ । वि.सं २०७३ मा सम्झौता भएर २०७५ मा सम्पन्न भइसक्नुपर्ने पुलको काम भर्खर ८५ प्रतिशत सम्पन्न भएको हो ।
लामो समय अलपत्र परेको जिदी खोलाको पुलको निर्माण कार्यले पछिल्लो सयम भने गति लिन थालेको छ । तीव्रगतिमा काम हुन थालेपछि निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
अहिलेकै गतिमा काम भए बाँकी १५ प्रतिशत छिट्टै सम्पन्न हुने सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर दीपेन्द्र पन्थले जानकारी दिए ।
निर्माण कम्पनीले भने झण्डै ९५ प्रतिशत काम सकिएको दाबी गरेको छ । दैनिक २०–२२ जना कामदार खटाएर काम भइरहेको निर्माण कम्पनी शान्ति निर्माण सेवा काठमाडौंका प्रतिनिधि कमल दाहालले बताए ।
पाँच वर्षदेखि पुल निर्माणाधीन रहेको छ । एक वर्ष अगाडिसम्म पुल निर्माणको काम निकै सुस्त थियो । समयमै पुल निर्माण नहुँदा यातायातका साधन र सर्वसाधारणले जिदी खोला वारपार गर्न सास्ती निकै सास्ती भोग्नुपरेको छ ।