धनगढी । भीमदत्त राजमार्गको दर्जन बढी स्थानमा पहिरो खसेर बनेको खाल्डाखुल्डी मर्मत नहुँदा जोखिम बढेको छ । सडक भाँसिनुका साथै खाल्डाखुल्डी पुर्न गरिएको कालोपत्रे समेत उप्किएपछि यात्रा जोखिमपूर्ण बनेको हो ।
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जोड्ने यो सडकखण्डमा जताजतै धराप देखिन्छ । यहाँका पहाड चढ्न गोदावरीको उकालो शुरु हुने बित्तिकैदेखि खाल्डाखुल्डी, ठाउँठाउँमा भासिएको र पहिरो खसेर धराप बनेको सडकमा गाडी चलाउनुपर्ने अवस्था छ ।
पहाडी जिल्लालाई प्रदेश राजधानी र तराईसँग जोड्ने यो सडकमा दैनिक सरदर ५ सयभन्दा बढी ढुवानी तथा यातायातका साधनहरू ओहोरदोहार गर्छन् । घुमाउरो तथा उकालो–ओरालो रहेको धनगढी–डडेल्धुरा राजमार्ग अत्यधिक संख्यामा दुर्घटना भइरहने सडक हो ।
दुर्घटना भइरहने सडक त्यहिँमाथि खाल्डाखुल्डी र भास्सिएकै सडकमा यात्रा गर्नुपर्दा यात्राभर घर पुगिने नपुगिने डर हुने स्थानीयको दुखेसो छ । समयमा सडक मर्मत नहुने र भएपनि दिर्घकालीन नहुनाले यहाँका स्थानीयका साथै यात्रुहरु समेत दैनिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।