काठमाण्डौं। बागलुङको रायडाँडाको टोलटोलमा सडक निर्माण भएको छ। रायडाँडाको भिरलाइ छिचोलेर सडक निर्माण गरिएको हो।
भिरको बाटो हिँड्नुपर्दा विद्यालय पुग्न पनि सास्ती थियो। प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो। बागलुङ नगरपालिका–११ को रायडाँडामा अहिले टोलटोलमै गाडी चढेर पुग्न सकिने भएको हो।
विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भिर फोडेर २० किमीभन्दा धेरै सडक सञ्जाल बनेको छ। त्यसमध्ये ११ किमी लामो पूर्व–पश्चिम फैलिएको वडा गौरवको सडक बनेको हो। त्यसबाहेक चारवटा छोटा सडक बनेपछि सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ। मुकामसम्म पुग्ने सडकको ट्रयाकमात्रै खुलेको रायडाँडामा अब भने सबै टोलमा गाडी चढेर जान सकिने भएको हो।
बिरामी पर्दा समयमा उपचार गर्न नपाउने बाध्यता अहिले हटेको स्थानीयवासीले बताए। गर्भवती, सुत्केरी र बुढापाका डोकोमा बोकिएर स्वास्थ्यचौकी आउने बाध्यता अहिले हटेको छ।
सदरमुकामबाट झण्डै ३० किमी दूरीको आफ्रे र सल्यानसम्म गाडी चढेर पुग्न सकिने भएको हो। मुख्य सडकमात्र नभई वडाका सबै टोलटोलमा बाटो पुगेको छ। जटिल भूगोल चिरेर गौरवको आयोजना अन्तर्गत वडाभित्रै ११ किमी लामो छुट्टै सडक बनेको हो। यो सडकले तत्कालीन रायडाँडा गाविसको वडा नं १ देखि ९ सम्मका सबै बस्ती जोड्छ।