रसुवा। कुनातर्फ रहेको ठुलो ढुङ्गाले माटोको भागसमेत केहि मात्रामा छोडी राजमार्गतर्फ दबिन थालेपछि उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा दिनानुदिन जोखिम बढ्दै गएको छ। सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरी क्षेत्रमा अवस्थित याङयाङ खोलाबाट मालबाहक साथै देनिक रुपमा दर्जनौ सवारी गुडने गर्दछन्। ढुङ्गा पल्टिने संभावना बढ्दै गएपछि मानवीय क्षती हुन्छकी भन्ने त्रासमा सवारी साधन गुडाउनु पर्ने बाँध्यता सवारी चालकलाई रहेको छ।
ढुङ्गा लच्किन गई ढु्ङ्गा बसेको सतहमा चिराचिरा भइसकेको सवारी चालकहरुले जनाएका छन्। नेपाल र चीनको व्यापार व्यवसाय अभिबृद्धि गर्ने प्रमुख मार्गको रुपमा रहेको पासाङल्हामु राजमार्ग जोखिम बढेको कारणले गर्दा त्यसलाई न्युनीकरण गर्नको लागि जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ। भिरालो भु–भागको राजमार्गमा क्षती भएमा मालबाहक सवारीसाभन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असुली कार्यमा पनि प्रभाव पर्ने संभावना रहेको कुरा भन्सार कार्यलयले जनाएको छ।
उक्त ढुङगा भन्दा ५०० मिटरमा २०६० देखि भुमिगत रुपले सञ्चालनमा आइरहेको २१२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्र रहेको छ। ढुङगा पल्टिएर भोटेकोशि थुनिएमा चिलिमे विद्युतले निकास पाइरहेको पानी प्रवाहमा असर पर्न गई उक्त क्षेत्रका स्थानीय बासीन्दाहरु विजुलीबाट बञ्चित हुन पुग्नेछन्।
त्यसैले सो ढुङगालाई समयमा नै व्यवस्थापन गर्नको जरुरी रहेको कुरा विद्युत क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्। उक्त ढुङगा सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएको कारणले गर्दा त्यसलाई कसरी फुटाउने भन्ने कुरामा पनि प्राविधिक तयारी भइरहेको छ। सो स्थानमा सडक निर्माणको काम सुरु हुनुभन्दा पहिले नै प्राकृतिक रुपले ढुङगा लच्किएपछि निर्माण कार्य ठप्प भएको छ।