काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा यातायात विकास प्राधिकरण बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सपथग्रहण तथा पदस्थापन कार्यक्रमलाई बिहिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यातायात क्षेत्रको समस्या समाधान गर्न यातायात विकास प्राधिकरण आवश्यक भएको बताएका छन्।
उनले भने, ‘यातायात मन्त्रालय छुट्टै बनाउने हैसियत मुलुकको छैन । तर यातायत विकास प्राधिकरण बनाउन सम्भव छ। त्यसले यातायात क्षेत्रका तमाम समस्याप्रति राज्यको ध्यान केन्द्रित गराउन सक्छ।’
अध्यक्ष दाहालले प्राधिकरण बनाउने सन्दर्भमा गठबन्धन दलको ध्यानाकर्षण गराउन आफ्नो पूरै ध्यान र शक्ति लगाउने विश्वास दिलाए। उनलेले गाडीको अवधि २० वर्ष तोकिनु वैज्ञानिक नभएको जिकिर गर्दै भने, ‘गाडीको अवस्था हेरेर निर्णय गर्नुपर्छ, गाडीको उमेर हेरेर होइन।’