काठमाडौं। पश्चिम नवलपरासीको सुस्तालाई जोडने नारायणी नदीमा बन्न लागेको पुलको काम सुरु गरेको आठ वर्ष बितिसकेको छ। आठ वर्ष बितिसक्दा पुल निर्माणको काम ६५ प्रतिशत मात्र सम्पन्न भएको हो।
नारायणी नदी पारी रहेको सुस्तालाई नेपालसँग जोडिने गरि नवलपरासीको नारायणी नदीमा बनाउन लागेको झोलुङ्गे पुल विगत आठ वर्षदेखि निर्माण सुरु भएको थियो।
उक्त पुलको जिम्मा त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७२ सालमा लिएको थियो। देशकै सबैभन्दा लामो झोलुङ्गे पुलको रुपमा निर्माण भइरहेको सुस्ता झोलुङ्गे पुल निर्माणका लागि सम्झौताको समय पटक पटक थप गरे पनि निर्माण पूरा गर्न भने नसकेको हो।
भारतीय पक्षले गत मङ्गलवार विना सूचना नै गण्डक ब्यारेजको ढोका खोलिदिए पछि पुल निर्माण कार्य रोकिएको पुल विभागले जनाएको छ।
एक हजार ५५८ मिटर लामो यो पुलमा १४ वटा पिलर निर्माण हुने छन्। यीमध्ये हालसम्म नौ वटा पिलरहरु निर्माण भइसकेको बताइएको छ। वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पुल तत्काल निर्माण सम्पन्न गर्न सुस्ता गाउँपालिका– ५ का स्थानीयवासीले माग गरेका छन्।