उदयपुर । उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा ह्रास आउन थालेको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट उद्योगको उत्पादन दिनप्रति दिन ह्रास हुँदै गएको हो।
दैनिक ८ सय मेट्रिक टन क्षमताको उद्योगले अहिले आधा पनि उत्पादन दिँदैन।अहिले दैनिक सरदर २ सय ६२ मेट्रिक टन उत्पादन भइरहेको छ । पुसदेखि असारसम्मको समयलाई सिमेन्ट उद्योगको ‘पिक आवर’ मानिन्छ ।
यो समयमा विकास निर्माणको काम धेरै हुने भएकाले सिमेन्टको माग उच्च हुन्छ । त्यसैले सबै सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउने र अधिकतम उत्पादन गर्ने ध्याउन्नमा हुन्छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक गोपी न्यौपाने पाए सँगै ८ महिनामा ६४ हजार ४४५ मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भएको देखिन्छ ।
उद्योगले दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भएपनि कुनै समय ९ सय मे. टनसम्म क्लिङकर उत्पादन गरेको थियो । यस अघि सरदर दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएपनि पछिल्लो समय उत्पादनमा ह्रास आएको छ ।
महाप्रबन्धकमा न्यौपाने आएपछि झनै उत्पादनमा ह्रास आएको उद्योगका एक कर्मचारीले जानकारी दिए । महाप्रबन्धक आएको ८ महिनाको रेकर्ड अनुसार सरदर दैनिक २ सय ६२ मेट्रिक टनमा झरेको छ ।