काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी एयरपोर्टलाई दिल्लीको एयरपोर्ट भन्दा पनि राम्रो बनाउनु पर्ने बताएका छन्।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर द्रुत मार्गले निम्त्याउने अवसरहरुबारे अन्तरक्रिया कार्यक्रममा मन्त्री आलेले यस्तो बताएका हुन्।
उनले भने, ‘हामीले धनगढी विमानस्थललाई स्तरोन्नति गर्न धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरेर क्यानबाट पास गरेर मन्त्री परिषदमा लग्यौँ, त्यहाँबाट पनि पास भएर एक अर्ब बजेट विनियोजन गरिसकेका छौँ।’
‘अब जग्गा अधिकरणको लागि १० देखि १२ अर्ब सम्म लाग्छ, तर क्यानले स्टीमेट गरेअनुसार १० अर्ब लाग्छ भनेको छ। तर १० अर्बले त पुग्दैन, यो एयरपोर्ट दिल्लीको भन्दा राम्रो बन्नु पर्यो । एयरपोर्ट सधैँ त बन्दैन भनेर मैले पहल गरिरहेको छु,’ उनले भने।