काठमाडौं। खाने तेलबाटै संसारकै सबै भन्दा ठूलो जहाज लामो समयसम्म उडेको छ। युरोपेली हवाइजहाज निर्माता कम्पनी एयरबसले खाने तेल हालेरै 'ए ३८० सिरीज' को जहाज सफलतापूर्वक लामो समयसम्म उडाएको हो।
हवाइजहाज उडानमा पेट्रोलियम हवाई इन्धनको विकल्पमा केही वर्षयता अध्ययन र प्रयोग गर्दै आएको एयरबसले सस्टेनेबल एभिएशन फ्युलु (एसएएफ) नाम दिइएको इन्धन प्रयोग गरेर आफ्नो सबैभन्दा ठूलो प्यासेन्जर एयरक्राफ्ट ए ३८० तीन घन्टासम्म उडाएको हो।
एसएएफ प्रयोग गरिसकेको कुकिङ आयल (खाना पकाउने तेल) र अन्य विभिन्न फ्याटहरुको प्रयोग गरेर उत्पादन गरिएको जनाइएको छ।
एसएएफ हालेर उडाइएको ए ३८० अहिले संचालनमा रहेको सबैभन्दा ठूलो वाइडबडी जहाज समेत हो। ८० मिटर विङ्सस्पान रहेको यो जहाज ७० मिटर लम्बाईको छ। संसारकै सबैभन्दा ठूलो यो प्यासेन्जर एयरक्राफ्ट अहिले विभिन्न मुलुकका १४ अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुसँग कुल २४९ वटा छ।
दिगो इन्धन विकल्पका लागि एसएएफलाई प्रयोगमा ल्याउने बताउँदै आएको एयरबसले ३८० सिरीजको जम्बो जेटमा यसको प्रयोगलाई गरेको परिक्षण सफल गरेर देखाएको छ।
एसएएफको प्रयोगले हाल वायुमण्डलमा वृद्धि भइरहेको कार्बोन डायोक्साइड नियन्त्रणमा ठूलो मद्दत पुग्ने एयरबसले जनाएको छ। विश्व उड्डयन क्षेत्रले आउँदो सन् २०५० सम्ममा प्रदूषणरहित उड्डयन उद्योग विस्तार गर्ने योजना बनाएको छ। त्यसमा एयरबसको यो प्रयासले थप सघाउने सम्भावना देखाएको छ।