काठमाडौं । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चारवटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार खण्डको स्तरोन्नती सम्पन्न भएको हो ।
आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/०७४ देखि शुरु भएको थियो । आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चारवटा खण्ड भएको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ६५ र सातवटा खण्ड भएको १ सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ ।
दिवा–रौताह–एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक २०७५ मा ११ मिटर फराकिलो, नाली, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो ।
भेना–घिलिङ, जोमसोम–कागबेनी–ताङ्वे र ताङ्वे–चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ । ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७÷७८ सम्ममा पाँच अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको छ ।