काठमाडौं। अस्ट्रेलियाली ध्वजावाहक वायुसेवा प्रदायक क्वान्टासले तीन वर्षपछि लन्डन र न्युयोर्कमा सिधा उडान गर्ने भएको छ। कम्पनीले लामो दुरिमा रहेका उक्त दुई गन्तव्यमा सिधा उडान गर्ने घोषणा गरेको हो।
यसका लागि कम्पनीले एयरबस ए३५०–१००० नयाँ जेटहरु खरिद गरेको जनाएको छ। उक्त जेटले तोकिएका गन्तब्यमा उडान गर्न सक्ने बताइएको छ। कम्पनीका अनुसार सिड्नीबाट लन्डनको पहिलो उडान सन् २०२५ को अन्त्यतिरबाट सुरु हुनेछ। उक्त उडानका लागि २० घण्टा लाग्नेछ। यदी यो उडान सम्पन्न भएमा यो नै विश्वको लामो उडान समेत हुनेछ। यो रुट सन् १९४७ मै राखिएको थियो। तर सातपटकको विश्रामसँगै ५८ घण्टामा मात्र यो रुटमा उडान सम्पन्न भएको थियो।
कम्पनीले यसका लागि काम गर्दै आएको छ। तर कोरोना महामारीका कारण यसको कार्यान्वयन समय भने ढिला हुँदै आएको छ। सन् २०१८ मा कम्पनीले पश्चिम अष्ट्रलियाको पर्थबाट लन्डनसम्मको सिधा उडान सुरु गरेको थियो। सन् २०१९ मा कम्पनीले बेलायतको पूर्वी तटबाट न्युयोर्कको शृंखलाबद्ध परिक्षण उडान पनि गरेको थियो।
नयाँ विमानहरु सन् २०२५ मा आउन सुरु हुनेछन् भने सन् २०२८ सम्म आइसक्ने छन्। तर कम्पनीले उडानमा सहभागी हुनेले तिर्नुपर्ने रकमबारे भने खुलाएको छैन। कम्पनीका फस्र्ट, बिजनेस, प्रिमियम इकोनोमि र इकोनोमी गरी चारवटा सिट वर्ग रहेका छन्। हरेक विमानले २ सय ३८ यात्रु बोक्नेछन्। क्याबिनको ४० प्रतिशत प्रिमियम सिटिङलाई छुट्याइनेछ। सिटहरु सामान्यभन्दा कोठाजस्तो हुने कम्पनीले जनाएको छ।आजको आर्थिक दैनिकबाट