म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ। भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो ।
महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । ८० मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए ।
दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीले बताएको छ ।