काठमाडौं। नेपाल एयरलाइन्सले आफ्ना दुई वटा वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ। वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको हो।
अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी नेपाल दूरसञ्चार प्राधिकरणले नीति ल्याएसँगै निगमले वाइडबडी जहाजमा यस्तो सुविधा राख्न लागेको जानकारी दिएको छ ।
जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने र यसले यात्रुको निगमसँगको सन्तुष्टिमा वृद्धि हुने अपेक्षा कम्पनीको छ । जसबाट थप यात्रु आकषिर्त गर्न सहयोग पुग्ने समेत निगमले उल्लेख गरेको छ ।
आकासमा छँदा इन्टरनेट सुविधा उपयोग गर्न पाउने गरी विदेशी एयरलाइन्सहरुले भने यसअघि नै यस्तो प्रणाली जडान गरिसकेका छन् । दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त नभएका कारण यसअघि जहाज नेपाली आकाशमा छिरेसँगै इन्टरनेट सञ्चालनको अनुमति थिएन ।