जोमसोम । बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए ।
पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । भारत र चिन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनीदेखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतीको काम भइरहेको छ ।
छ अर्बको लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सात वटा खण्डमा काम भइरहेको छ । चार वटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादबले बताए ।
यो सडक स्तरोन्नति र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए ।