काठमाडौं। बुटवल–१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई राजमार्गसम्म जोड्न माग गरेका छन्। पूर्वपश्चिम राजमार्गको बेलवास झोलुङ्गेपुल चोकसम्म जोड्न माग गरेका हुन्।
पर्यटन मार्गको रूपमा निर्माणाधीन वेलवास–वेथरी सडकखण्डको नामसँग वेलवास जोडिए पनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई बेलवास झोलुङ्गेपुल चोकसम्म जोड्न उनीहरुले आग्रह गरेका हुन्।
स्थानीय तह निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा पुगेका एमालेका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईसमक्ष स्थानीयवासीले बेलवास–वेथरी पर्यटन सडक निर्माण सम्पन्न हुने चरणमा रहेकाले यसलाई नहरपुरचोकबाट विस्तार गरेर राजमार्गसम्म ल्याउन माग गरेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुटवल, ऐतिहासिक नुवाकोटगढी, पाल्पा हुँदै पोखरा जाने यात्रुका लागि समेत यो सडक छरितो हुने भएकाले यसलाई छिटो राजमार्गसँग जोड्न उनीहरुले माग गरेका हुन्।
उनीहरूले वडाका सबै टोलमा खुला व्यायामशाला निर्माण गर्न, पाणिनी उद्यानका लागि यथेष्ट बजेट विनियोजन गर्न, विपन्न परिवारका कम्तीमा एक जना सदस्यका लागि रोजगारीको व्यवस्था गर्न माग गरे। त्यसैगरी सामाजिक सुरक्षा भत्ता कार्यक्रम अत्यन्तै प्रभावकारी रहेकाले यसलाई अझ व्यवस्थित गर्न उनीहरुले माग गरेका छन्। वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन, उनीहरूको मनोरञ्जनका लागि खुला मनोरञ्जन क्षेत्र बनाउनसमेत मतदाताले आग्रह गरे । उनीहरुले टोलटोलमा सामूहिक लगानीमार्फत सामूहिक आम्दानी हुने खालका कार्यक्रम ल्याउन उम्मेदवार भट्टराईसमक्ष आग्रहसमेत गरेका छन्।
मतदाताका मागलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले स्थानीयवासीले उठाएका मुद्दा आफूहरुले घोषणापत्रमा लिपिबद्ध गरेर सार्वजनिक गरेको भन्दै आम मतदाताका चाहनासँग आफ्नो घोषणापत्र मेल खाएकामा खुसी व्यक्त गरे।