काठमाण्डौं। सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा अहिलेसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको हो।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रुपमा वैकल्पिक मार्गका रुपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ।
पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्मको कूल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ। विसं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनस्थप गरी तीव्ररुपमा काम भइरहेको छ।
राजमार्गको निर्माणको जिम्मा कालिका स्वच्छन्द ररकेन जेभी काठमाडौंले र पूर्वी खण्डको जेट आइइसो एण्ड लामाजेभिले निर्माणको काम गरिरहेका छन्। ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्रे भएको र यसमाथी सात मिटर चौडाइ दास्रो लेयरमा कालोपत्र भएको बताइएको छ।
राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ।