डडेल्धुरा। डडेल्धुरामा विमानस्थल निर्माणको लागि बजेट सुनिश्चित गरिएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो।
नेपाल नागरिक उड्ययन प्राधिकरणले वातावरणीय प्रभाव मुल्यांकनसँगै विमालस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित भएको जनाएको छ।
विमालस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेटको व्यवस्थापन गरिएको हो। डडेल्धुरामा निर्माण हुने विमानस्थलका लागि मन्त्रालयले बजेटको सुनिश्चितता गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले जानकारी दिए।
विमालस्थल निर्माणका लागि २०७२ सालमा प्रारम्भिक सर्वेक्षण सुरु गरी थालनी गरिएकोमा गत कात्तिकमा सर्भे सुरु भएको थियो। २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको टोलीले पुइलेकमा विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो।
२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न प्रयास भएका थिए। वातावरणीय प्रभाव मुल्यांकनसँगै पाँच करोड बजेट सुनिश्चित भइसकेकोले अब छिट्टै डडेल्धुरामा विमानस्थल बन्ने विमानस्थल निर्माणका अभियान्ता डा.तारा जोशीको भनाइ छ।
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। त्यहाँका सातवटै पहाडी र दुईवटा तराईका जिल्लामा विमानस्थल रहेको छ। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल बन्न सकेको छैन ।