दमौली। देवघाटलाई मुतिक्तनाथसँग जोड्ने शालिग्राम करिडोरमा कालोपत्रे गर्न सुरु गरिएको छ। तनहुँको देवघाट गाउँपालिका खण्डमा कालोपत्रेको काम सुरु गरिएको हो।
पहिलो चरणमा गण्डकी प्रदेश सरकारको १६ करोड लागतमा ६ किलोमिटर लम्बाई, सात मिटर चौडाईमा कालोपत्रे तथा पक्की नाला र कल्भर्टसमेतको काम भइरहेको छ। सो क्षेत्रमा पक्की नाला र कल्भर्ट निर्माण सकिएपछि गत साताबाट कालोपत्रेको काम सुरु गरिएको हो।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाका अनुसार पहिलो चरणमा चितवन र तनहुँ जोड्ने दासढुङगा पुलदेखी देवघाटको देउपुरसम्म लगभग ६ किलोमिटर सडकमा उक्त काम भइरहेको छ।
चितवनको भरतपुरस्थित रोयल बिल्डर्स प्रालिलाई स्वच्छन्द जेभी प्रालि हेटौँडाले उक्त करिडोर कालोपत्रे सुरु गर्न जिम्मा दिएको थियो। एक वर्ष भित्र काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको भुवन सुवेदीले बताउनुभयो।
गत वर्ष केही महिना कोभिडको कारण कामा रोकिए पनि यस वर्ष भने सुरुदेखि नै निरन्तर काम भइरहेको सुवेदीले बताउनुभयो। उहाँका अनुसार देसैंअघिसम्म १५ मिटर कालोपत्रे सकिसक्ने र बाँकी काम सम्झौता अवधिभर सक्ने लक्ष्य रहेको छ।