काठमाडौं। स्थानीय तहको निर्वाचनको दिन नेपाल पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले पर्यटकलाई सहज बनाउनका लागि सटल बस सेवा सञ्चालन गर्न लागेको हो।
निर्वाचनको दिन काठमाडौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी बोर्डले पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालको समन्वयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतका लागि विभिन्न रुटहरुमा सशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था मिलाइएको उल्लेख छ ।
सटल बस सेवाबापत प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क लाग्ने र उक्त शुल्क सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने बताइएको छ ।
बस सेवा सञ्चालन हुने रुट तोकिएको छ। सोही रुट अनुसार बस सेवा सञ्चालन हुने छन्। यी हुन् रुट
रुट १
एअरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एन्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल–एम्बासडर होटल–एयरपोर्ट
रुट २
एयरपोर्ट–होटल र्याडिसन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एयरपोर्ट
रुट ३
एअरपोर्ट–तीनकुने चोक–होटल एभरेस्ट–माइतीघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एयरपोर्ट ।