तनहुँ। ७२ किलोमिटर रहेको पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौं लगानी भए पनि राजमार्गको अवस्थामा भने अझै पनि सुधार आउन सकेको छैन। पृथ्वीराजमार्गका तनहुँमा ठाउँ–ठाउँमा परेको खाल्डाखुल्डीको कारणले गर्दा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती मात्र नभएर दुर्घटनाको जोखिम पनि बढाएको छ। पृथ्वीराजमार्गका बजार क्षेत्रका सडकमा खाल्डाखुल्डीले राजमार्गमा सडक जाम समेत हुने गरेको स्थानयको भनाई छ।
सो सडकमा भएको खाल्डाखुल्डीले गर्दा बिरामीलाई पोखराका अस्पताल पुर्याउन पनि सास्ती हुने साथै समयमा बिरामी अस्पताल पुर्याउन नसक्दा बिरामीको अवस्था पनि गम्भिर हुने कुरा त्यहाँका सवारी चालकहरुले बताएका छन्। राजमार्गको सडकको अवस्था ग्रामीण सडकको भन्दा पनि खत्तम रहेको छ। सम्बन्धित निकायको चासो नदिदा सर्वसाधारण जनताले दुःख पाउनुपरेको स्थानीयको गुनासो रहेको छ।
पछिल्लो केही दिन यता गाछेपानी कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयका प्रमुखको भनाइ रहेको छ। कार्यालयलाई हाल सडक मर्मतका लागि बजेट आएको छैन, तर सर्वसाधारणलाई सास्ती भएको देखेर बजेट नभएपनि खाल्डा पुर्न थालेको कार्यलय प्रमुखको भनाइ छ। सो क्षेत्रको सडक हाल डिभिजनको क्षेत्राधिकारमा नपर्ने भएका कारण मर्मत गर्न नसकिएको बताइएको छ।
राजमार्गको मुग्लिन पोखरा सडक एसियाली विकास बैङ्कक एडीबीको सहुलियत ऋणमा चार लेनको बन्दैछ। चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ। ५ पृथ्वीराजमार्ग अन्तर्गतको सडक मर्मतका लागि मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड १७ लाख ७४ हजार ३६ खर्च भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा रु पाँच करोड १८ लाख ४१ हजार एक सय ५५ खर्च भएको छ। तर पनि सडकको अवस्था भने दयनिय नै रहेको छ।