काभ्रे। दसैंको मुखमै सुख्खा पहिरोको कारण सडक अवरुद्ध भएको छ। पहिरोले काभ्रेको खोपासी च्याम्राङबेँसी मिल्चे सडक अवरुद्ध भएको हो।
बेथानचोक गाउँपालिका १ गुवा भञ्ज्याङ नजिक सेतिभिरबाट सुख्खा पहिरो खस्दा डाँडापारि क्षेत्रबाट सदरमुकामसम्म चल्ने सवारीसाधन पुर्ण रुपमा बन्द भएका छन्। सडक अवरुद्ध भएपछि चाडपर्वको लागी सामग्री किन्न नपाएर सर्वसाधारण समस्यामा परेका छन्। उक्त पहिरोले यस क्षेत्रको विद्युत् लाईनको पोल समेत ढालेको छ। जसले गर्दा विद्युत् पनि अवरुद्ध भएको छ।
उक्त सडक दुई दशक अगाडी देखी सञ्चालनमा आएको थियो। हिउँदको समयमा यही सडक हुँदै प्रदेश राजधानी हेटौँडासम्म यात्रा गर्ने गरिएको भएपनि पहिरोका कारण हाल पुर्ण रुपमा अवरुद्ध भएको छ। स्थानीयका अनुसार पहिरो निरन्तर झरेको भएकाले दसैं अगाडी सडक सञ्चालनमा आउन सम्भव छैन।
वैकल्पिक बाटोको व्यवस्था हुँदै गरेको र उक्त सडक पुर्ण रुपमा बन्द गरिएकाले हिँड्डुलगर्न समेत नहुने बेथानचोक गाउँपालिकाले जनाएको छ। वर्षायाम अन्त्य हुनै लाग्दा सडक सञ्चालन भएको महिना दिन नबित्दै सुख्खा पहिरो गएको हो। पहिरोका कारण ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारसम्म पुर्याउन समस्या भएको छ। यस क्षेत्रका कृषकले उत्पादन गरेका सामग्रीहरु ललितपुरको चन्दनपुर तथा गिम्दी हुँदै चापागाउँबाट बनेपासम्म पुर्याउन स्थानीयवासी बाध्य भएका छन्।