काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडको करिब नाफा २५ प्रतिशत घटेको छ। राधी विद्युत कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ७८ प्रतिशत कम खुद नाफा गरेको हो।
गत वर्ष रू. ६ करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ७१ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी करिब ५ प्रतिशत कम भएकाले पनि खुद नाफामा कमि आएको हो । गत वर्ष रू ११ करोड ४७ लाखभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू १० करोड ९३ लाखभन्दा बढी मात्र विद्युत विक्री गरेको हो । यस वर्ष कम्पनीको सञ्चालनबाट नाफा गत वर्षभन्दा १७ दशमलव २१ प्रतिशत कम रू ६ करोड ६५ लाख भएको छ ।
यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू। ६४ करोड ६४ लाख ४ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम ५२ दशमलव १२ प्रतिशत घटेर रू ११ करोड ७५ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाईसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति पाएको हो । यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।