काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा माथिल्लो तामाकोशी जलविद्युत लिमिटेडलाई १ अर्ब ६५ करोड भन्दा बढी नोक्सानी भएको छ। गत वर्ष यस अवधिसम्म ३ करोड ५० लाख नोक्सान बेहोरेको तामाकोशीले यस वर्ष १ अर्ब ६५ करोड ६ लाख खुद नोक्सान बेहोरेको छ।
कम्पनीले यस वर्ष विद्युत विक्रीबाट रू ५ अर्ब १६ करोड ३३ लाखभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीले विद्युत विक्री गरेको थिएन ।
विद्युत विक्रीबाट आम्दानी गरेपनि यस वर्ष कम्पनीको वित्तीय खर्च भएकाले नोक्सानीमा वृद्धि भएको हो । गत वर्ष वित्तीय खर्च नभएको कम्पनीले यस वर्ष यो शिर्षकमा रू ३ अर्ब ५५ करोड ५९ लाखभन्दा बढी खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँज रू १० अर्ब ५९ करोड रहेको छ । जगेडा कोष रकम रू २ अर्ब ७१ करोडभन्दा बढी ऋणात्मक छ ।
कम्पनीको दिर्घकालिन कर्जा रू ४१ अर्ब र अल्पकालिन कर्जा रू ५ अर्ब १० करोड रहेको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई गत भदौ २५ गतेदेखि पूर्ण रुपमा व्यापारिक उत्पादन गर्दै आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू ७४ दशमलव ३७ रहेको छ ।