काठमाडौं। काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह (ड्राइपोर्ट)मा सामान भित्रिन थालेका छन् । एक महिनाअघि उद्घाटन गरिएको यो सुक्खा बन्दरगाहमा हालसम्म १० ट्रक सामान आइपुगेका हुन् ।
भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते चोभार सुक्खा बन्दरगाहको औपचारिक उद्घाटन गरेका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले तीन वर्ष लगाएर यसको निर्माण सम्पन्न गरेको हो ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अहिलेसम्म १० वटा ट्रक सामान लिएर चोभारमा आएको जानकारी दिए । उनले भने, “सञ्चालन भएको एक महिना मात्रै भएकाले धेरै सामान आउन सकेका छैनन्। नयाँ बन्दरगाह भएकाले यसबारे जानकारी पाउन समय लाग्ने हुँदा बिस्तारै आवागमन बढ्छ ।”
व्यवसायी र व्यापारी भैरहवा, विराटनगर, वीरगञ्जमा सामान लैजान बानी परेका र चोभार नयाँ बन्दरगाह भएकाले पनि बुझ्न समय लाग्ने उनले बताए। यस विषयमा निजी क्षेत्रसँग छलफल भइरहेको उनले जानकारी दिए । छिमेकी मुलुक भारत र भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने गजुरेलको बताए।
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) बन्द भएको र आयातमा कडाइ गरिएकाले धेरै सामान आउन नसकेको बताए । चोभार सुक्खा बन्दरगाहसम्म सामान ल्याउन छुट्टै एलसी खोल्नुपर्ने र भन्सार बिन्दुमा कर र भ्याट दुवै शुल्क तिर्न‘पर्ने भएकाले व्यवसायीले सामान ल्याउन नसकेको उनले जानकारी दिए। चोभार सुक्खा बन्दरगाहले आयात निर्यात व्यापारमा सहजीकरण गर्ने सम्भावना रहे पनि अझै केही समस्या रहेको निजी क्षेत्रले बताएका छन् ।