काठमाडौं। भक्तपुरको नलिन्चोकमा एकैपटक २७ हेलिकप्टर अट्ने स्थायी हेलिप्याड बन्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले रोटर विङ्स (हेलिकोप्टर) उडान अवतरण सहज बनाउनका लागि हेलिकप्टर मात्रका लागि अलग्गै स्टेशन बनाउने भएको हो।
हेलिप्याड करिब ३३ रोपनी क्षेत्रफलमा रहने बताइएको छ। यो कम्तिमा २७ वटा हेलिकोप्टर स्थायी रुपमा पार्किङ गर्न सक्ने क्षमताको हुने क्यानले जनाएको छ।
यसको लागत करिब ३० करोड रुपैयाँ अनुमान गरिएको छ। सुरुआती चरणमा हेलिप्याड तयार पार्नका लागि १५ करोड रुपैयाँ खर्च गरिनेछ भने भवन संरचनाका लागि कम्तिमा थप १५ करोड रुपैयाँ लाग्ने अनुमान छ।
नलिन्चोकमा बन्ने हेलिप्याड हेलिकोप्टर सेवा संचालनका लागि आवश्यक सम्पूर्ण सुविधा सहितको हुने बताइएको छ। यो हेलिप्याड संचालनमा आएसँगै नेपालका कुनै पनि गन्तव्यमा हेलिकोप्टर सेवा संचालनका लागि सहज र सुविधा हुनेछ।