काठमाडौं। रौतहटको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण सुरु गरिएको छ। नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण सुरु गरिएको हो।
चन्द्रपुर नगरपालिका–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ। करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्नेछ।
वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माणको काम भइरहेको छ। बालबालिकाका लागि बाल उद्यान, फूलबारी लगायत संरचना निर्माण गरिएका छन्। यसै आर्थिक वर्षभित्र सो पार्क तथा पर्यटकीय स्थलको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।
स्विमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पट, बाटो, बगैंचा, फूलबारी, भ्यूटावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण गरिने छ।