काठमाडौं। सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ। जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको २ अर्ब ६४ करोड लगानीमा लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो।
कम्पनीले सुदुरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ।
माथिल्लो स्टेसनबाट २५० मिटरको दुरिमा जालपा मन्दिर रहेका कारण यो भेगमा पर्यटकिय सम्भावना रहेको भन्दै आयोजना अगाडी बढाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार जालपा मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगाालगायत क्षेत्र यस आयोजनाका आसपासमा रहेका छन्। आयोजनाले गरेका प्रस्ताव अनुसार केबलकारको लम्बाई ३ं१ किलोमिटर हुनेछ।
कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा आठजना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ। केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्नेछ। केबलकारको गति ६ मिटर प्रतिसेकेन्ड रहने गरि प्रस्ताव गरिएको छ।
तल्लो स्टेसनबाट माथिल्लो स्टेसन पुग्न अधिकतम १० मिनेट समय लाग्नेछ। केबलकारमा कुल १५ वटा टावर रहनेछन्। आयोजनाले वातावरणिय प्रभाव अध्ययनका दौरान दुईपटक सार्वजानिक सुनुवाइसमेत पुरा गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ। आयोजनाको निर्माण अवधि तीन वर्ष तोकिएको छ। कुल १४.९१ हेक्टर जमिनमा आयोजना बन्ने भएको छ। आजको हिमालय टाईम्सबाट