काठमाडौं। भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले सोमबार मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो।
नेपाल आयल निगमले घाटा कम गर्नका लागि पेट्रोल, डिजल र मट्टितेलमा एकैचोटी प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको एक दिन नबित्दै फेरि उही घाटाको स्थितीमा पुग्ने अवस्था बनेको छ। आईओसीले सोमबार पठाएको नयाँ खरिद मूल्य अनुसार निगमले १५ दिनमा करिब साढे चार अर्ब रुपैयाँ घाटा ब्यहोर्नुपर्ने देखिएको छ।
आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर २२.९४ रुपैयाँ र डिजलमा ३५.३३ रुपैयाँ घाटा हुने निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासमा निगमलाई प्रति सिलिण्डर १०५०.१८ रुपैयाँ घाटा छ। यसका कारण आगामी १५ दिनमा करिब चार अर्ब ४९ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ।
यसअघि मे १ मा आईओसीले पठाएको मूल्यअनुसार निगम १५ दिनमा ५ अर्ब १९ करोड रुपैयाँ घाटा खाएको स्थितीमा पुगिसकेको थियो। शनिवार लिटरमा १० रुपैयाँ बढाएपछि भने यो सवा चार अर्ब रुपैयाँमा झरेको निगमले जनाएको थियो। नयाँ खरिद मूल्य आएपछि त्यो पुनः उकालो लागेको छ।
