काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान शुरु भएपछि मुलुकको अन्य क्षेत्रले जस्तै वैदेशिक रोजगारका लागि जाने श्रमिकहरुले पनि लाभ पाउने भएका छन्। सोमबार बिहान ७ बजे जजिरा एयरवेजको जहाज अवतरण भएपछि उक्त विमानस्थलमा व्यावसायिक अन्तराष्ट्रिय उडान शुरु भएको हो।
२५६६ औं बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबढी जहाज अवतरण गरेको हो। उक्त जहाजले मंगलबार बिहान साढे दुई बजे नेपालबाट यात्रु कोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ।
जजिरा एयर सस्तो फ्लाइट प्रदान गर्ने वायुसेवा कम्पनीको रुपमा विश्वव्यापी परिचित छ। मंगलबार भैरहवा कुवेतको भाडा २ सय ४० अमेरिकी डलर कायम गरिएको छ। उक्त जहाजबाट सोमबार अवतरण गरेका रुपन्देही छपियाका सोमकान्त बरालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यात्रा गर्दाको हैरानीबाट मुक्त भएको भन्दै कुवेतबाट सिधै आफ्नो शहरमा अवतरण गर्न पाउँदा अत्यन्तै आनन्द लागेको बताए।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लगेज फुटाउने, चोरी गर्ने समस्या रहेको गुनासो गर्दा कुनै सुनुवाइ नहुने भन्दै उनले अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीको रुखो व्यवहारबाट मुक्ति मिलेको बताए। उनले भने, ‘यहाँ कर्मचारीले त्यसरी हेप्न सक्ने छैनन्, विदेशबाट दुख गरेर आउनेलाई ठगी गर्न खोजे तुरुन्तै प्रतिवाद हुन्छ।’
कुवेतबाट आएका बुटवलका रेम मगरलाई लिन आफ्नो काखे बच्चासहित आएकी फुर्की मगरले भनिन्, ‘आफ्नै ठाउँमा स्वागत र बिदाइ गर्न पाउँदा ढुक्क हुँदो रहेछ। उनले त्यहाँबाट मोटरसाइकलमा नै घर जान सकिने भएकाले विदेशमा दुख गरी कमाएको रकम पनि बचन हुने बताइन्।
त्यस्तै रेम मगर भन्छन्, ‘पहिले कुवेतबाट काठमाडौं अवतरण गर्नुभन्दा काठमाडौंबाट घर जान झन्झटिलो थियो। अब त्यसबाट मुक्ति पाइने भयो।’
वैदेशिक रोजगार व्यवसायीहरुले कुवेत रोगजारीमा जाने कामदारलाई श्रम स्वीकृतिको सबै प्रक्रिया पूरा गरेपछि एकदिन पहिले काठमाडौंबाट भैरहवा पठाउने योजना बनाएका छन्। जजिरा एयरवेयजले साताको तीन दिन अर्थात सोमबार, बुधबार र शुक्रबार नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ। जजिरा एयरवेयजले जुलाइपछि दैनिक उडान भर्ने बताएको छ। आजको मध्यान्ह दैनिकबाट