काठमाडौं। माथिल्लो अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार गर्ने प्रक्रिया शुरु गरिएको छ। १०६१ मेगावाट विद्युत उत्पादन क्षमताको अप्पर अरुणले प्रभाव पर्ने क्षेत्रका सरोकारवालासँग लिखित रायरसुझाव मागे गरिएको छ।
यो आयोजनाबाट संखुवासभाको भोटखोला गाउँपालिका २, ३ , ४ र ५ मा प्रभाव पर्ने बताइएको छ। इआइए प्रतिवेदन तयारी गर्ने क्रममा प्रभावित क्षेत्रमा सामाजिक, सांस्कृतिक, आर्थिक, जैविक, भौतिक प्रणालीमा कस्तो असर पर्दछ भन्ने पत्ता लगाउन त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवालासँग लिखित रायसुझाव मागिएको हो।
आयोजना संखुवासभाको भोटखोला–२ रुक्मा गाउँ नजिक हुँदै बग्ने अरुण नदीमा १०० मिटर अग्लो बाध बाँधी पानीलाई सुरुङका माध्यमबाट सिपरुङ गाउँ (वडा ४) नजिकै प्रस्ताविक विद्युत् गृहमा पठाउने डिजाइन छ। त्यसबाट १०६१ मेगावाट जडित क्षमताबाट वार्षिक औसत ४५३१ गिगावाट घण्टा ऊर्जा उत्पादन गरिनेछ। अमेरिकन कम्पनी इन्भाइरोमेन्टल रिसोर्सेज म्यानेजमेन्ट (इआरएम)ले इआइए प्रतिवेदन तयार पारिरहेको छ।