काठमाडौं। हिमालय एयरलाइन्सकी परिचारिका ओमनिका डंगोलले सगरमाथा आरोहण गरेकी छन्। जेठ २ गते बिहान सात बजे डंगोलसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेका हुन्।
थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडीसनको आरोहण टोलीसहित सगरमाथाको सफल आरोण गरेपछि उनी शुक्रबार काठमाडौं आइपुगेकी छन्।
हिमालय एयरलाइन्स्काअध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरे । सफल आरोहण गरेको टोलीलाई बधाई दिँदै कम्पनीका अध्यक्ष झो एन्योङ्गले भने, ‘यो हाम्रो लागि निकै महत्वपूर्ण समय हो । ओमनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्किएकोमा हामी अत्यन्त खुसी छौं। आरोहणमा धेरै जोखिम र चुनौतीहरू थिए। म हरेक दिन उहाँहरुको सुरक्षाको लागि चिन्तित थिएँ । तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले सफल हुनेछ भन्नेमा विश्वस्त पनि थिएँ।’
कम्पनीले छिट्टै ‘हिमालय एयरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नाराका साथ मुलुकको पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको जनाएको छ।
यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी डंगोलले विविध चुनौतीको वावजुद पनि दृढ निश्चय लिएर सफल आरोहण गर्न सफल भएको बताएकी छन्।