काठमाडौं। बागलुङ क्षेत्र नं २ अन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्र हुने भएको छ। विस्तृत अध्यययन प्रतिवेदन (डिपिआर)लगत्तै उक्त सडक कालोपत्रका लागि ठेक्का लगाइएको हो।
गलकोट नगरपालिकाको हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङहुँदै निसीखोला प्यूठान जोड्ने सडक कालोपत्रका लागि प्रक्रियामा गएको हो। साढे दुई वर्षभित्र आवश्यक सानाठूला पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो। उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रका लागि ठेक्का निकालेको जनाएको छ।
उक्त सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। उक्त सडकलाई झण्डै रु ४० करोडभन्दा बढी लागत अनुमानका आधारमा डिपिआर तयार गरिएको थियो।
डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्र गर्न ठेक्का आह्वान गरेको र अहिले प्रक्रियामा रहेको कार्यालयले बताएको छ। झण्डै ४० किलोमिटर लामो उक्त सडक पनि सुरुको विन्दुबाट काम हुँदै जाने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।