काठमाडौं। लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा अवरुद्ध भएको छ। शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ। १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ। सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ।
राति रुख ढलेका कारण विद्युत् समस्या भएको स्थान पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ। विद्युतमा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्रही बताउँछन्।