काठमाडौं। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने दुर्लुङ–कुश्मा सडकखण्डको केही भाग सफा गरेका छन्। उक्त सडकखण्डको केही भाग हालै निर्वाचित भएका जनप्रतिनिधिहरूले नै सफा गरेका हुन्।
बर्खा याम आएको र दिनहुँजसो भइरहेको वर्षाका कारण नाली पुरिएर सडक नै बिग्रने अवस्था आएपछि जनप्रतिनिधिहरू नै गल र गैँची बोकेर सडकको नाली निर्माणमा लागेका हुन्। दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले आफूसहित हालै निर्वाचित भएका अन्य ४ जना सदस्यहरूको नेतृत्वमा केही गाउँलेहरूको सहयोग लिएर झन्डै साढे दुई किलोमिटर सडकको नाली सफा गरिएको बताए।
नाली अड्किएको ढुङ्गा, माटो, पात, रुखका जरा लगायतका कारण नाली थुनिएका कारण आफूहरू नै नाली सफाइमा निस्किएको बताईएको छ। नाली थुनिँदा सडकमा आएको भेलले बाटो एक छिनमा स्वाहा पारिदिन्छ। गाउँ आउजाउ गर्ने यातायात नै बन्द हुने अवस्था पनि आउन सक्छ। ‘कोदाली र साबेलले फाल्न सक्ने नालीको भाग हामीले सफा गरेका हौँ। अब अलिकति भाग मान्छेले सफा गर्न नसक्ने खालको छ, त्यसका लागि जेसीबी बोलाएको अध्यक्ष पाध्यले बताए।
वडाध्यक्षसहित सदस्यहरू महेन्द्रकुमार गुरुङ, चूडामणि शर्मा, सुधा गुरुङ र गङ्गामाया बिकसहित झन्डै १५ जना गाउँलेहरू मिलेर कुश्मा हुँदै जाने डाँडा बिसाउनेदेखि रोहोटे चोकसम्मको भागमा सफा गरिएको हो।