दोलखा। जिल्लाको वैतेश्वर गाउँपालिकामा आधुनिक इँटा उद्योग सञ्चालनमा आएको छ। भूकम्पपछिको पुनर्निमाणलाई मध्यनजर गर्दै अत्याधुनिक इँटा उद्योग सञ्चालनमा ल्याइएको हो। उद्योगले पछिल्लो समय दोलखा, रामेछाप र सिन्धुपाल्चोकका जिल्लामा इँटा ढुवानी गर्ने गरेको छ।
गाउँमै सुविधा दिने उद्देश्यल लाखौँ लगानी गरेर इँटा उद्योग सञ्चालन ल्याएको एकेएस इँटा उद्योग प्रालिले जनाएको छ। एकेएस इँटा उद्योग सञ्चालक सिता तामाङले दोलखा र आसपासको छिमेकी जिल्लामा निर्माण हुँदै गरेको घर, भवन तथा सामुदायिक सम्पदामा प्रयोग गर्न मिल्ने गुणस्तरीय इँटा उत्पादन गरी बिक्री वितरण गरिरहेको जानकारी दिइन्।
उद्योगबाट पछिल्लो दुई महिनामा २० लाख इँटा उत्पादन गरिएको उनले बताइन्। उद्योगले बेरोजगारी बनेर बसेका स्थानीय युवालाई रोजगार समेत दिएको छ। जिल्लामै आर्थिक आर्जनको सुनिश्चितता गर्ने उद्देश्यले गैरिमुदिमा रहेको पुरानो इँटा उद्योगलाई स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याएको उनले जानकारी दिइन्।
उक्त उद्योग केही वर्षअघि नै खुलेको भए पनि बीचमा बन्द भएको थियो। बन्द भएको उद्योगलाई गुणस्तरीय इँटा उत्पादनसहित फेरि सञ्चालनमा ल्याइएको तामाङले जानकारी दिइन्। यस उद्योगले दोलखाभरि खपत हुने इँटाको माग धान्ने गरी उत्पादन गरिएको उनको भनाइ छ। गाउँघरमा निर्माण हुने घर, समुदायिक भवन, विद्यालय तथा अन्य भवन निर्माणका लागि यो इँटा सस्तो र गुणस्तरीय समेत रहेको उनले बताइन्। तामाकोशी नजिकै गोपिखोलाबाट तीन किलोमिटर माथि रहेको उद्योगमा दैनिक पाँच हजारदेखि १५ हजारसम्म इँटा उत्पादन हुने गरेको छ। इँटा उद्योगमा भारतीय तथा तराइमुलका विज्ञ जनशक्ति रहेको छ। पछिल्लो समय यस उद्योगको इँटा प्रयोग र माग बढेको उनले बताइन्।