काठमाडौं। बुद्ध एयरले काठमाडौंबाट भारतको वाराणसीमा पुनः उडान सुरु गरेको छ। कम्पनीले कोभिड महामारीका कारण दुई वर्षदेखि बन्द रहेको काठमाडौं–वाराणसी अन्तर्राष्ट्रिय उडान सोमबारदेखि सुरु गरेको हो।
यसअघि बुद्धले वाराणसीमा सातामा दुई दिन सोमबार र शुक्रबारको उडानतालिका सार्वजनिक गरेको थियो। सोही तालिकाअनुसार सोमबार काठमाडौंबाट बिहान ७ः १५ बजे बुद्धको एटिआर जहाज भारतको वाराणसीतर्फ उडेको छ। उडानमा ४४ यात्रु र ६ जना चालकदलका सदस्य रहेका थिए। वाराणसीबाट काठमाडौं फर्कंदा ३९ यात्रु बोकेर ८:४५ बजे उडान गरेको थियो।
काठमाडौं–वाराणसी उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकीय यात्रुहरूलाई सहज हुने कम्पनीले जनाएको छ। हिन्दूहरूका लागि वाराणसी मुख्य तीर्थस्थलमध्ये एक हो। त्यहाँ विश्वनाथ मन्दिरलगायत भगवान् बुद्धले पहिलोपटक प्रवचन दिएको सारनाथ पनि नजिकै रहेको छ। वाराणसीमा भारतीय तिर्थालुका साथै विदेशी यात्रुहरूको पनि चहलपहल निकै हुने गरेको छ। यस उडानबाट चर्को गर्मी छल्न ५० मिनेटको उडानमा भारतीय यात्रुलाई नेपाल आउन सहज हुने बुद्धले जनाएको छ।
यसबाट पर्वतीय पर्यटन र सांस्कृतिक प्रवद्र्धनमा टेवा पु¥याउने कम्पनीले विश्वास व्यक्त गरेको छ। बुद्ध एयरको भगिनी कम्पनी बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यहरूको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ।
आजको नयाँ पत्रिका दैनिकबाट